रारा ताल


राराताल नेपालको कर्णाली अञ्चल, मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो। यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाइमा अवस्थित छ। जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको यात्रा गरेपछि पुगिन्छ।
 १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर र गहिराई १६७ मिटर छ। प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरू राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन। यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

राराताल जेष्ठ देखि आश्विन महिना सम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ। रारातालको अर्को एक थप विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ। रारातालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ। जहाँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न सकिन्छ।
राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि 'रारा दह'ले चिनिदै आएको यस तालको नाम 'महेन्द्र ताल' राखियो। यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिनाको साथै अन्यत्र कहीं नपाइने 'असला' जातको माछा पाइन्छ।